काठमाडौं । हरियो सिमीले हाम्रो शरीरलाई मोटोपना, मधुमेह तथा मुटुको रोग आदि हुने सम्भावना कम गर्छ । थोरै क्यालोरी हुने हरियो सिमीमा चिल्लो हुँदैन र यसले घातक प्रकृतिका रोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गरेर विभिन्न मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
हाम्रो शरीरमा भिटामिन ’के’ को कमी भएको अवस्थमा हड्डी भाँचिने खतरा बढ्ने हुन्छ । यस भिटामिनको पर्याप्त मात्राले हड्डीको स्वास्थ्य सप्रिनुका साथै क्याल्सियमको मात्रा बढाउन मद्दत गर्छ । एक कचौरा हरियो सिमीले हाम्रो शरीरमा भिटामिन ’के’को मात्रा पुगाउँछ ।
हरियो सिमीमा उच्च मात्रामा क्लोरोफिल पाइन्छ जसले हाम्रो शरीरमा क्यान्सरजन्य विषालु तत्वलाई उत्पन्न हुन दिँदैन । ग्रिल गरिएका खाद्यवस्तु वा सेकुवा खाने गर्नाले हाम्रो शरीरमा क्यान्सरको सम्भावना हुन सक्छ । त्यसैले यस्तो पोलेको खानेकुरा खादा हरियो सिमी पनि सँगै खानु पर्छ ।
हरियो सिमीमा पाइने फोलेटको पर्याप्त मात्राले शरीरमा होमोसिस्टाइन प्रक्रियालाई अवरुद्ध गर्छ । हाम्रो शरीरमा हुने होमोसिसइन प्रक्रियाले गर्दा हाम्रो मस्तिष्कमा रगत र पोषक तत्वहरुको आपूर्तिमा समस्या आउँछ । यो प्रक्रिया बढेमा हाम्रो शरीरमा विभिन्न हर्मोनको उत्पादन घटेर जान्छ र मान्छेलाई तनाब हुन थाल्छ ।
यस अवस्थामा भोक कम लाग्ने, थकाई लाग्ने, निन्द्रा विग्रने, रिस उठ्ने, उदास हुने जस्ता लक्षण देखा पर्न थाल्छ । शिशुलाई स्नायुसम्बन्धी समस्या नहोस् भनेर गर्भवती महिलालाई हरियो सिमीको सेवन गर्न जरुरि हुन्छ ।
प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार
Comments