काठमाडौं । बालबालिकाले प्रयोग गर्ने ‘जोन्सन एण्ड जोन्सन बेबी पाउडर’ मा क्यान्सर गराउने तत्व रहेको भन्दै आमसन्चार माध्यममा खबर सार्वजनिक भएपछि भारतको नियमन निकाय सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेशन सीडीएससीओ ले उक्त पाउडरको जाँच गर्ने भएको छ ।
बेलायती समाचार समिति रोयटर्सले शुक्रबार जोन्सन बेबी पाउडरमा क्यान्सर गराउने तत्व एस्बेस्टस फेला परेको समाचार सम्प्रेषण गरेको थियो । समाचारका अनुसार यो तत्व मिसाइएको बारेमा जोन्सन कम्पनीलाई धेरै पहिलेदेखि थाहा थियो ।
औषधि नियन्त्रक विभागले १ सय औषधि जाँचकी ड्रग इन्सपेक्टरहरुलाई जोन्सन बेबी पाउडर जाँचको जिम्मेवारी सुम्पिएको छ । उनीहरुले कम्पनीको उत्पादन युनिटसहित वितरक र होलसेल बिक्रेताहरुबाट बेबी पाउडरको नमुना लिनेछन् ।
बेबी पाउडरका प्रयोगकर्तामध्ये जोन्सनका प्रयोगकर्ता विश्वभर धेरै छन् । भारतमा मात्र १३ करोड घरमा यो पाउडर प्रयोग गरिन्छ । नेपालमा पनि यो विश्वासका साथ बढी प्रयोग गरिनेमा पर्छ ।
उता जोन्सन एण्ड जोन्सन कम्पनीले मंगलबार रोयटर्सको समाचार एकतर्फी र झुटा भएको बताएको छ । बेबी पाउडर एस्बेस्टसरहित र सुरक्षित भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक लाख महिला र पुरुषमा पाउडरको असरका बारेमा गरिएको अध्ययनबाट यसबाट क्यान्सर नहुने पुष्टि भएको थियो । रोयटर्सले कम्पनी मेमो, आन्तरिक प्रतिवेदन र अन्य गोप्य दस्तावेजका आधारमा १९७१ र २००० सम्म बेबी पाउडरको परीक्षणमा क्यान्सरकारक तत्व एस्बेस्टस पाइएको जनाएको थियो । तर नियमनकारी निकाय र जनतालाई यो कुरा लुकाइएको समाचारमा जनाइएको थियो । अमेरिकी नियमनकारी निकायलाई समेत यो कुरा लुकाइएको बताइएको थियो ।
जोन्सन एण्ड जोन्सनले मंगलबार बजारबाट ५ अर्ब डलर बराबरको स्टक फिर्ता लिने बताएको छ । रोयटर्सको समाचारपछि शुक्रबार अमेरिकी शेयरबजारमा जोन्सन एण्ड जोन्सनको शेयरमा भारी गिरावट आएको थियो । यसबाट कम्पनीलाई ४० अर्ब डलर घाटा लागेको छ ।
प्रकाशित मितिः २०७५ पुष ५ बिहिबार
Comments