काठमाडौं । सन्तान हुर्काउनु आमाबाबुको सबैभन्दा ठूलो जिम्मेवारी हो । अझै बच्चालाई कुनै खास विकार वा रोग लागेमा अभिभावकको जिम्मेवारी झन् धेरै बढ्छ । अटिजम स्पेक्ट्रम डिसअर्डरबाट ग्रस्त भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकका लागि यो चुनौतीपूर्ण नै हुन्छ । अटिजम एक मस्तिष्क रोग हो, जुन प्रायः बालबालिकामा हुन्छ, पत्ता लगाउन धेरै गाह्रो छ । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो ।
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।
बच्चा एक-दुई वर्षको नभएसम्म अटिजमका लक्षणहरू पत्ता लाग्दैन । यो रोग बच्चाको व्यवहार, उसले देखाउने असामान्य प्रतिक्रिया र ईशाराले मात्र पत्ता लगाउन सकिन्छ । यदि तपाईंको बच्चा अन्य बालबालिकाको तुलनामा मौन रहन्छ वा कुनै पनि कुरामा ढिलो प्रतिक्रिया दिन्छ भने यी लक्षण अटिजमका हुन सक्छन् ।
यो एक विकाससम्बन्धी विकार हो, जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक सम्बन्ध बनाउन कठिनाइ हुन्छ । अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ । एकै समयमा अटिजमबाट पीडित व्यक्तिहरू पनि एकअर्काभन्दा फरक हुन्छन् ।
कारण
अटिजम यही कारण हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको त छैन । तर यो वंशाणुगत र वातावरणीय कारणले देखा पर्न सक्छ । जसले गर्भमा हुर्किने बच्चाको मस्तिष्कको विकासमा बाधा पुर्याउँछ ।
परिवारमा कसैलाई अटिजम छ भने त्यो परिवारको बच्चालाई अटिजम हुन सक्छ । जस्तो, पहिलो बच्चालाई अटिजम छ भने दोस्रो बच्चामा पनि अटिजम हुन सक्ने सम्भावना बढी हुन्छ । साथै डाउन सिन्ड्रोम भएका बालबालिकामा पनि अटिजम हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमालाई उच्च रक्तचाप, थाइराइडको समस्या छ भने बच्चालाई अटिजमको जोखिम हुन सक्छ ।
यदि आमाबुबाले ढिलो उमेरमा बच्चा जन्माउँछन् भने उनीहरूबाट जन्मिने बच्चामा अटिजमको जोखिम बढी हुन्छ । गर्भावस्थामा आमाले चुरोट, रक्सी खान्छिन् भने उनीबाट जन्मिने बच्चालाई पनि अटिजम हुने सम्भावना हुन्छ ।
समयभन्दा अघि नै बच्चा जन्मियो वा बच्चा जन्मिनेबित्तिकै आईसीयू वा भेन्टिलेटरमा लामो समय राख्नु पर्यो भने उनीहरूमा यो समस्या देखिन सक्छ । गर्भावस्थाको समयमा आमाले खाएका केही औषधिहरूको साइड इफेक्टको कारण पनि बच्चामा अटिजम हुन सक्छ ।
बच्चालाई अटिजम छ भन्ने कुरा गर्भमा पत्ता लाग्दैन
बच्चाले अरूसँग कुरा नगरेसम्म, अरूको कुरा सुनेर प्रतिक्रिया नजनाएसम्म बच्चामा अटिजम भए नभएको पत्ता लगाउन सकिंदैन । यस्तोमा बच्चा पेटमै हुँदा यो समस्या पत्ता लगाउन सकिंदैन । कुनै पनि जाँचबाट यसलाई पत्ता लगाउन सकिंदैन । जन्मिएपछि उसको बानी व्यवहार र लक्षणहरू याद गरेर मात्र यो पत्ता लाग्छ ।
बच्चालाई अटिजमको जोखिमबाट बचाउन के गर्ने ?
अटिजमबाट बच्न बच्चाको योजना बनाउनुअघि चिकित्सकसँग आवश्यक परीक्षण र पारिवारिक इतिहासबारे छलफल गर्नुपर्छ ।
ढिलो उमेरमा बच्चा जन्माउने योजना बनाउँदा भने आमालाई उच्च रक्तचाप, थाइराइडको जोखिम हुन्छ र बच्चालाई अटिजमको । त्यसैले सही उमेरमा बच्चा जन्माउने योजना बनाउनुपर्छ । साथै गर्भावस्थामा चुरोट रक्सी नखाने, पोषक तत्त्व भएका खानेकुरा खाने, तब मात्र बच्चाको दिमागको विकास राम्ररी हुन्छ र अटिजमको जोखिम कम हुन्छ ।
एक पटक अटिजमको रोग लागेमा त्यो जीवनभर रहिरहन्छ, तर सही उपचार दिइयो भने लक्षण नियन्त्रण गर्न सकिन्छ र धेरै हदसम्म यस्ता व्यक्तिले सामान्य जीवन बिताउन सक्छन् ।
यो समस्या कसरी पहिचान गर्ने ?
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गा¥हो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहो¥याउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्न गा¥हो हुन्छ । शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ ।
अटिजम दुई प्रकारको हुन्छ, हाइपर र लो । हाइपर भए बालबालिकामा प्रकाश, गन्ध, स्वाद, वासनामा बढी संवेदनशील हुने र अत्यन्त कम हुने हुँदा ठूला सामान उठाउन सक्छन् भने साना सामान उठाउन सक्दैनन् ।
उपचार के हुनसक्छ ?
यो रोगको उपचार थेरापी नै हो । समयमै रोग पहिचान गरी विहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रथम गुरु नै अभिभावक हुन् । अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउने अवसर प्राप्त गर्छन् । त्यसैले यस्तो समस्या भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक हुन्छ । उनीहरूले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिनुपर्छ । यो आजीवन रहने समस्या हो । अटिजम भएकाहरू बौद्धिक रूपमा ठीक भए पनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् ।
नेपालमा यस्तो समस्या भएका बालबालिकाहरूको अवस्था के–कस्तो छ ?
अटिजम भएका बालबालिकाले उमेर पुग्दै गएपछि पनि आफ्नो उमेरका साथीसरह गतिविधि गर्न नसक्ने, गतिविधि गरे पनि एउटै गतिविधि धेरै गर्ने वा अत्यन्तै कम गर्ने जस्ता समस्या देखिन्छन् । यस्ता बालबालिकामा भाषाको विकास हुँदैन । नेपालमा अटिजम भएका सबै बालबालिकाको पहिचान नहुँदा अभिभावक तथा बालबालिका दुवै पीडित हुनुपरेको छ । पहिचान नहुँदा यस्ता समस्याले ग्रसित बालबालिकाहरू खोरमा, घरको कोठामा डोरीले बाँधिएर वा सिक्रीले बाँधिएर थुनिएको अवस्था छन् ।
ध्यान दिनुपर्ने कुरा समस्या पहिचान गरी परिवारले उनीहरूको व्यवस्थापनसम्बन्धी तालिम लिएपछि यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सक्छन् । संगीत, आर्टस् थेरापीजस्ता क्रियाकलापबाट उनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्छ । यो समस्या पूर्णरूपमा समाधान नभए पनि केही सहजीकरण भने गर्न सकिन्छ ।
प्रकाशित मितिः २०८० भदौ १८ सोमबार
Comments