काठमाडौं । अहिले देशभर उच्च गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । देशका तराई क्षेत्रमा त झन् मानिसहरुमा स्वास्थ्य समस्या नै देखिन थालेको छ । हीट स्ट्रोक र केहि आपतकालीन स्वास्थ्य समस्याको पनि खतरा देखिन थालेको छ ।
चिकित्सकहरुका अनुसार गर्मीयाममा डिहाइड्रेशन हुनु सामान्य कुरा हो । डिहाइडे्रशन अर्थात शरीरमा पानीको कमी हुनाले लू लाग्नुको साथै किड्नी, पाचनसहित अन्य विभिन्न अंगमा समेत समस्या हुन्छ ।
गर्मीको कारण हुने बिरामीको प्रमुख कारण भनेकै शरीरमा पानीको कमी हुनु हो । त्यसैले सबै मानिसले दिनमा कम्तिमा चार लीटर पानी पिउनु आवश्यक भएको चिकित्सकहरुको सुझाव छ ।
शरीरमा पानीको कमी भएको भन्ने कुरा कसरी थाहा पाउने त ?
चिकित्सकहरु भन्छन् – ‘गर्मीबाट बच्नका लागि दिन भरीमा पर्याप्त मात्रामा पानी अथवा तरल पर्दाथ पिउनु पर्छ । तपाईँले पानी पर्याप्त मात्रा पिउनु भएको छ कि छैन भन्ने कुरा आफैंले परीक्षण पनि गर्न सक्नु हुन्छ ।’
शरीरमा पानीको कमी नभएको संकेत
यदि तपाईँको शरीरमा पानीको कमी भएन भने तपाईँलाई हरेक दुई घण्टामा पिसाब लाग्छ । सफा, सेतो र पातलो पिसाब आउनु तपाईँको शरीरमा पानीको कमी छैन भन्ने कुराको संकेत हो अर्थात तपाईँको शरीर हाइड्रेट छ भन्ने बुझिन्छ । यसबाहेक यदि पिसाब पोल्दैन, पसीनाको उत्पादन पनि सही किसिमले भइरहेको छ भने पनि शरीरमा पानीको कमी भएको छैन भन्ने बुझ्नुु पर्छ ।
शरीरमा पानीको कमी भएको संकेत
शरीरमा पानीको कमी भएको छ कि छैन भन्ने कुरा सबैले थाहा पाउन आवश्यक छ । केहि सामान्य लक्षणको आधारमा शरीरमा पानीको कमी भएको कुरा थाहा पाउन सकिन्छ । पानीको कमिका कारण तपाईँको अनुहार र आँखा सम्बन्धि विभिन्न समस्या देखिन सक्छ ।
बारम्बार प्यास लाग्नु ।
गाढा पहेँलो र गन्धयुक्त पिसाब लाग्नु ।
सामान्यभन्दा कम पटक पिसाब लाग्नु ।
रिँगटा लाग्नु, कमजोर महसुस हुनु ।
मुख, ओठ र जीब्रो सुख्खा भएको महसुस हुनु ।
आँखा सुख्खा र दुखेको महसुस हुनु ।
छाला अत्यधिक सुख्खा हुनु ।
गम्भीर प्रभाव
लामो समयसम्म बारम्बार डिहाइड्रेशनको समस्या भयो भने पिसाबमा संक्रमण यूटीआई, किडनीमा स्टोन र किडनी फेलसम्म पनि हुन सक्छ ।
डिहाइड्रेशनका कारण टाउको दुख्ने समस्या पनि हुन्छ । चिकित्सकका अनुसार जब हामी कम पानी पिउँछौ, तब पिसाबको उत्पादनमा पनि कमी आउँछ, जसले गर्दा शरीरबाट अपशिष्ट तत्व निस्कँदैन । यो समस्या विभिन्न प्रकारले गम्भीर र जोखिमयुक्त मानिन्छ ।
प्रकाशित मितिः २०८० असार ०४ सोमबार
Comments