काठमाडौं । कोरोना भाइरसले प्रत्यक्ष रूपमा फोक्सोमा असर गर्ने हुँदा कोभिड निमोनिया हुने सम्भावना सङ्क्रमितमा धेरै हुन्छ ।
तर, बेलायती वैज्ञानिकहरूले सङ्क्रमण निको भएपछि पनि मानिसमा कोभिड निमोनिया हुने सम्भावना रहेको बताएका छन् । सङ्क्रमण निको भएपछि पनि निमोनिया हुने सम्भावना पुरुषभन्दा महिलामा बढी हुने गरेको पाइएको छ । बेलायतको युनिभर्सिटी अफ साउथेम्प्टनका वैज्ञानिकका अनुसार सङ्क्रमणमुक्त भइसकेका प्रत्येक तीनमध्ये एक महिलालाई कोभिड निमोनिया हुनसक्छ ।
सङ्क्रमणबाट मुक्त भइसकेको वा निको भइसकेको एक वर्षपछि पनि कोरोना भाइरसको प्रभाव फोक्सोमा देख्न सकिन्छ । जर्नल लान्सेट रेस्पिटरी मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार सङ्क्रमणमुक्त भइसकेका एक तिहाइ बिरामीमा कोभिड निमोनियाको लक्षण देखा परेका छन् । साथै, फोक्सोले गर्ने कार्य र फोक्सोबाट रगतमा अक्सिजन पुग्ने क्षमता पनि कम भएको पायो ।
सिटी स्क्यानमार्फत् हेर्दा फोक्सोमा दाग पनि देखिएको थियो । कोभिडका कारण गम्भीर भएका मानिसमा यस्ता लक्षणहरू बढी देखिएको थियो । वैज्ञानिकका अनुसार अनुसन्धानमा संलग्न गराइएका ८३ जनामध्ये पाँच प्रतिशतलाई अझै पनि सास फेर्न गाह्रो हुने समस्या छ । अनुसन्धानमा संलग्न गराइका ८३ जनाको एक वर्षसम्म हरेक तीन महिना जाँच गरिएको थियो ।
साउथेम्प्टन विश्वविद्यालयको सहयोगी प्रोफेसर मार्क जोन्सका अनुसार कोरोनाबाट पूर्ण रूपमा निको भएकामा कोभिड निमोनिया देखापरिरहेको छ । धेरैजसोमा सङ्क्रमणमुक्त भएको केही महिना वा एक वर्षपछि समेत निमोनिया देखापरिरहेको छ । निमोनियाको समस्या सङ्क्रमणमुक्त भएको एक वर्षपछि पनि किन देखापरिरहेको छ भनेर अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाइ छ ।
वैज्ञानिकका अनुसार सङ्क्रमणमुक्त भए पनि वा पूर्ण रूपले निको भएपछि पनि कोभिड निमोनियाको नियमित जाँच गर्न आवश्यक छ । यसले भविष्यमा बिरामीहरूको उपचार गर्न सहयोग पु¥याउँछ ।
प्रकाशित मितिः २०७८ जेठ मंगलबार
Comments