काठमाडौं । काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ११ , ललितपुरमा १३ र काठमाडौंमा २९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ३ हजार १ सय ६२ , भक्तपुरमा ९ हजार ३ सय ४७ र ललितपुरका १६ हजार २ सय ९३ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २८ हजार ८ सय २ जना पुगेको छ ।
गत २४ घण्टामा २ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख २४ हजार २ सय ९३ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ । त्यस्तै, यो अवधिमा ५५ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८ दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
Comments