काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड– १९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । खोप एयर इन्डियाको विमानबाटमार्फत दिल्लीबाट आइतबार दिउँसो काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।
नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो । सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो । जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो ।
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ । स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ ।
सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो । सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो ।
प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार
Comments