काठमाडौं । कास्की, मोरङ, सर्लाही र कपिलवस्तुका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई हिजो प्रहरीले पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–३ नदिपुर नारायणथान मन्दिरस्थित सडकबाट नियन्त्रित लागुऔषधसहित सोही ठाउँ बस्ने ३४ वर्षीय बालकृष्ण गिरीलाई साँझ प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले ३५ एम्पुल नुर्फिन, ३७ एम्पुल फेनारगन र ३६ एम्पुल डाईजेपाम बरामद गरेको छ। अस्थाई प्रहरी पोष्ट नदिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
मोरङको केराबारी गाउँपालिका-६ दाहाल चोकबाट गाँजासहित सोही ठाउँ बस्ने २३ वर्षीय रितेश लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट करिब २२० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
सर्लाहीको लालबन्दी नगरपालिका-६ लालबन्दीस्थित सडकबाट करिब ३६ किलो २६ ग्राम अवैध लागुऔषध गाँजा र १ थान मोबाइलसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुली डाबडाँडा गाउँपालिका-१ बस्ने ३५ वर्षीय शक्ति लामा र रौतहट चन्द्रापुर नगरपालिका-१ बस्ने ४२ वर्षीय प्रेम यादब रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो बीरगंज र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले बा.८३ प ८४७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाकेचोकबाट करिब १० किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजासहित महोत्तरी जलेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय रुपेश रायलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी फुल्जोरबाट खटिएको प्रहरीले साईकलमा राखेर घारी बथानबाट बर्दिबासतर्फ जाँदै गरेका उनलाई जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगंजबाट नियन्त्रित लागूऔषध ४ सय २० ट्याब्लेट नाईट्राभेटसहित शिवराज नगरपालिका-१ उमरी शिबपुर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ। लु.२ ख ३८३४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार ती किशोरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
प्रकाशित मितिः २०७७ पुस ३ शुक्रबार
Comments