काठमाडौं । काठमाडौं, सिरहा र चितवनका छुट्टाछुट्टै स्थानमा बिहीबार भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-३, भत्केकोपुलस्थित सडकमा प्रदेश ३–०१–००३ क ७१४४ नम्बरको गाडीले बा.९५ प ५५४० नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट बेलकोटगढी नगरपालिका-१० घर भई हाल टोखा नगरपालिका खरीबोट बस्ने ५५ वर्षीय रामप्रसाद त्रिपाठी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार रहेका गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिरहाको सिरहा नगरपालिका–१८ स्थित सडकमा ना.७ त २६५७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ।
मृत्यु हुने ट्याक्टर चालकमा सोही नगरपालिका–२ बस्ने २६ वर्षीय सुरजकुमार यादव रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिरहा हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो।
चितवनको खैरहनी नगरपालिका–६ सुर्तनीस्थित सडकमा हाल नम्बर नखुलेको बलेरो गाडीको ठक्करबाट हाल पहिचान नखुलेका करिब ३२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।
प्रकाशित मितिः २०७७ पुस ३ शुक्रबार
Comments