काठमाडौँ। नेपालमा सेप्टेम्बर/अक्टोबर महिनामा कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेर ओरालो लागेको विज्ञहरूको ठम्याइ छ। तर केही सातायता परीक्षणको सङ्ख्या घटेकाले वृद्धवृद्धा तथा जोखिममा रहेका मानिसहरू खतरामा पर्ने चिन्ता उनीहरूले प्रकट गरेका छन्।
कुनै बेला दैनिक १५,००० भन्दा धेरै सङ्ख्यामा पीसीआर परीक्षण हुने गरेकोमा हिजोआज उक्त सङ्ख्या ५,००० को हाराहारीमा झर्न थालेको देखिन्छ। त्यसमध्ये पनि उल्लेखनीय सङ्ख्या त विदेश जान विमान चढ्नका लागि अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट आवश्यक पर्ने व्यक्तिहरूको रहने गरेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार अचेल दैनिक सरदर ५००-६०० मानिस विदेश जान्छन्।
“धेरै उडान हुनेहुँदा बिहीवार चाहिँ १,५०० जति मानिसहरू त्रिभुवन विमानस्थलबाट बाहिरिन्छन्,” प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। विमान चढ्न पीसीआरको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने हुँदा तिनले परीक्षण गराउनैपर्छ। तिनको सङ्ख्या कटाउने हो भने त दैनिक परीक्षण अझ कमै मानिसले गरेको देखिन्छ।
कुनै समय परीक्षण गराएकामध्ये २५ प्रतिशतको हाराहारीमा सङ्क्रमित भेटिने दर चाहिँ अहिले १५ प्रतिशतको हाराहारीमा झरेको छ। दर घट्नुलाई सकारात्मक मानिए पनि त्यसले अझै अत्यधिक पनि समुदायमा सङ्क्रमण रहेको जनाउँछ।
“अहिले त कस्तो भइदियो भने मानिसहरू लक्षण नदेखिईकन परीक्षण गराउन नै आउँदैनन्। परीक्षण गरेर मात्र निको हुने होइन भन्ने सोच विकसित भइरहेको पाइन्छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बीबीसीलाई बताए।
कम परीक्षणको ठूलो खतरा के हो ?
थोरै सङ्ख्यामा परीक्षण गर्दा वास्तविकता लुक्ने अनि सङ्क्रमण समुदाय भित्रभित्रै भुसको आगोसरह फैलिने सम्भावना बढ्ने विज्ञहरू बताउँछन्। “हाम्रो सामु चुनौती के छ भने यदि मानिसहरूले यसरी परीक्षण नगराएमा उनीहरूले घरघरमा वृद्धवृद्धालाई वा जोखिम समूहलाई नजानीकन सारिदिन सक्छन्। जसले आगामी दिनमा गम्भीर बिरामी र मृत्यु बढाउन सक्छ,” डा. कार्कीले भने। उनका अनुसार त्यसले सङ्क्रमणको घातक दोस्रो लहर ल्याउन सक्ने डर हुन्छ।
हुन त अहिलेसम्मका सरकारी तथ्याङ्क हेर्ने हो भने परीक्षण कम भइरहेको भए तापनि सघन उपचार आईसीयू वा भेन्टिलेटर आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या स्थिर नै देखिन्छ। कुनै समय दैनिक प्रतिवेदनमा आईसीयूमा झन्डै ४०० बिरामी रहेको देखिने गरेकोमा अचेल त्यो ३०० को हाराहारीमा रहेको छ।
‘खतरा टरेको छैन’
तर यो कुनै पनि हालतमा बेवास्ता गर्नुपर्ने समय नभएको अर्का विशेषज्ञ डा. अनुप सुवेदीले बताए। “परीक्षण नगराउनुको थुप्रै बेफाइदा हुन्छ। कोही मानिस अस्पताल लानुपर्नेगरी बिरामी भयो भने यदि उसले पहिले नै परीक्षण गराएको रहेछ भने त्यहीअनुसार छिटै उपचार पाउँछ। होइन भने या त उसको उपचारमा ढिलाइ हुन्छ या अनावश्यक एन्टीबायोटिक वा औषधिमा समय र स्वास्थ्य बर्बाद हुन्छ,” उनले भने।
यति नै बेला समाजमा भने मानिसहरू निस्फिक्री भइरहेको भान हुन्छ। भोजभतेर, विवाह-समारोह, जुलुसजस्ता भिडभाड हुने काम बढिरहेका छन्। तर जनस्वास्थ्यको दृष्टिकोणले त्यो घातक हुनसक्ने विज्ञहरूको मत छ।
“अहिले विश्वमा खोप पनि दिन थालिएको छ। तर हामीकहाँ त्यो आइपुग्न अझै महिनौँ वा वर्षौँ लाग्न सक्छ। त्यतिन्जेल हामीले सतर्क हुनैपर्छ। हामीले जनस्वास्थ्यका मापदण्डको ख्याल गर्नैपर्छ,” डा. सुवेदीले बताए।
ठूलो स्तरको परीक्षणको तयारी
थोरै परीक्षणले सङ्क्रमणलाई घरघरमा विस्तार गराउन सक्ने खतरा रहेको भन्दै अब सरकारले फेरि ठूलो स्तरको परीक्षणको तयारी गरिरहेको डा. कार्कीले बताए। केही साताअगाडि सरकारले द्रुत एन्टिजन विधिबाट काठमाण्डूमा एक लाख मानिसको परीक्षण गर्ने बताए पनि त्यो त्यत्तिकै सेलाएर गएको थियो।
अब भने राजधानी उपत्यकामा डेढ लाख मानिसको द्रुत एन्टिजन विधिबाट परीक्षण गरिने तयारी भएको डा. कार्कीले बताए। पीसीआरजत्तिको भरपर्दो नभए पनि विश्वका कतिपय देशले समुदायमा एन्टिजन विधिबाट परीक्षण गरिरहेको बताइन्छ।
“हिजोमात्र एक लाख एन्टिजन किट आइपुगेका छन् र थप ५०,००० आउँदैछन्। धेरै सङ्क्रमित भेटिएका स्थानमा अब हामी यसमार्फत् परीक्षण गर्छौँ,” उनले भने। यसलाई सक्रिय सर्भेलन्स भनिने र यसबाट समुदायमा सङ्क्रमण कति छ भन्ने पनि थाहा हुने उनले बताए। बीबीसी
प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार
Comments