काठमाडौँ । आज आइतबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहार र आसपासमा रहेको न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको मौसमविदले बताएका छन् । अहिले देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।
आइतबार दिउँसो प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडि भू–भागमा र प्रदेश २ मा आंशिक बदली हुनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।
प्रकाशित मितिः २०७७ मंसिर २१ आइतबार
Comments