काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ४५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ८ आइसियु, गण्डकी प्रदेशमा ८६ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन्। यसअघि मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख २६ हजार २६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख ७ हजार ९ सय ९८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ।
प्रकाशित मितिः २०७७ मंसिर १० बुधबार
Comments