हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका ३२ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब एक सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको उनले बताए ।
अहिलेसम्म कसैलाई पनि गाह्रो हुने गरी लक्षण नदेखिएको उनले बताए ।थापाले भने, ‘कोरोना देखिएकालाई तातोपानी खुवाएर राखिरहेका छौं ।’ संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् ।
जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।
करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments