काठमाडौं । नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा गरेर आज (आइतबार) ऋषि पञ्चमी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अर्थात हरितालिका तीजको पर्सिपल्ट यो पर्व मनाइन्छ । महिलाहरुले ऋषि पञ्चमीमा बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।
हरितालिका तीजको ब्रत महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र उत्तम हुने शास्तमा वर्णित छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने भएको कारण यो दिनलाई ऋषि पञ्चमी भनिन्छ ।
पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि मात्रै खाएर ब्रत बस्ने चलन छ । यस दिन विभिन्न मठ मन्दिर एवं तीर्थस्थलहरुमा पूजा आराधना गर्ने महिलाहरुको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणका कारण त्यो सम्भव भएन ।
प्रकाशित मितिः २०७७ भदौ ७ आइतबार
Comments