काठमाडौं । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका तीज को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
ब्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले बताए ।
‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।
महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।
पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ ।
यस वर्ष पर्वका अवसरमा मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ लगायत मुख्य मन्दिर चैतदेखि नै बन्द छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीज मनाउँदै छन् ।
प्रकाशित मितिः २०७७ भदौ ५ शुक्रबार
Comments