भक्तपुर । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण बढेपछि उपत्यकाका तीन वटै जिल्लामा आजबाट निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको पहिलो दिन आज भक्तपुरमा पूर्णरुपमा पालना भएको छ ।
प्रहरीले केही दिन अगाडि देखि नै माइकिङ मार्फत सूचना र विभिन्न सञ्चार माध्यमबाट पहिले नै जानकारी दिई सकेकाले आज भक्तपुरमा निषेधाज्ञाको पूर्ण पालना भएको प्रहरी परिसर भक्तपुरले बताएको छ ।
भक्तपुरका बजार, चोक, गल्ली तथा अन्य ठाउँका पसलहरु बन्द रहेका छन् भने मानिसहरु पनि बाहिर निस्केका छैन् । खाद्यान्न, तरकारी फलफूल र दुग्धजन्य पदार्थका पसलहरु बिहान केही समय खुलेका थिए भने औषधी पसल खुला नै रहेको छ ।
मुख्य सडकहरुमा अत्यावश्यक बाहेकका सवारी साधनलाई गुड्न दिएको छैन् । सरकारी कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय जानलाई छुट दिएको छ ।
भक्तपुरका सबै ठाउँमा २४ सै घण्टा प्रहरीको डियुटी रहने गरी निषोधाज्ञाको सुरक्षा योजना बमोजिम सुरक्षाकर्मी परिचालन गरिएको ाप्रहरी परिसर भक्तपुरले बताएको छ ।
भक्तपुरका मुख्य चोक तथा गल्लीहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको व्यापक उपस्थिति रहेको छ ।
उनका अनुसार प्रहरीले मुख्य सडकका चोक चोकमा निषेधाज्ञाको उल्लंघन गर्नेलाई केही समय होल्ड गराएर सम्झाइ–बुझाइ गरी पठाइएको छ । भोलिबाट भने निषेधाज्ञाको उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार
Comments