कपिलवस्तु । लकडाउन उल्लंघन गरी पसल सञ्चालन गर्ने र सवारी चलाउने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको मुख्य व्यापारिक केन्द्रमा प्रशासनले छड्के चेक गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। शनिवार जिल्ला प्रशासन कार्यालय र प्रहरीसहित तौलिहवा, जितपुर, बुद्धभूमि र चन्द्रौटा क्षेत्रमा अनुगमन गरिएको थियो।
प्रशासनको सूचनालाई अवज्ञा गरी पसल सञ्चालन तथा सवारी साधनहरू सञ्चालन गरेको पाइएकाले संक्रामण ऐन २०२० बमोजिम कारबाही भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। कारबाहीबाट चार हजार रुपैयाँ राजस्व संकलन भएको छ। जिल्ला प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले बजारमा मास्क प्रयोग नगरेका नागरिकहरूलाई सचेत गराई मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
बजारमा ठेला तथा विभिन्न माध्यमबाट तोकिएको समय भन्दा अन्य समयमा व्यापार गरिरहेका व्यापारीलाई नियमअनुसार कारबाही भएको जनाइएको छ। कपिलवस्तुमा समुदाय स्तरमा कोरोना देखिएपछि आइतबारसम्म लकडाउन जारी गरेको थियो। संक्रमितको संख्या बढेकाले लकडाउन थप गरिने तयारी समेत भएको छ। दुईजना कोरोना संक्रमितको मृत्यु भएपछि प्रशासनले थप कडाइ गर्न सुरु गरेको छ।
प्रकाशित मितिः २०७७ साउन ३२ आइतबार
Comments