दाङ । कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि रातिको समयमा निषेधाज्ञा लगाइने भएको छ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार घोराहीमा बसेको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म सवारी साधन चलाउन तथा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले तीजको अवसरमा भेला भएर नाचगान गर्न र मन्दिरहरुमा जान समेत प्रतिवन्ध लगाउने निर्णय भएको बताए।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले तीजमा हुन सक्ने संभावित घटनाहरुलाई समेत मध्यनजर गर्दै यस्तो निर्णय भएको बताए। यातायातका साधनमा तोकेको भन्दा बढी यात्रु राखेर सञ्चालन गर्न नदिने निर्णय समेत बैठकले गरेको एसपी चन्दले जानकारी दिए।
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments