भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको एनेक्स वार्ड शिल गरिएको छ । अस्पतालमा उपचारका लागि आएकी काभ्रेकी १२ वर्षिया बालिकामा कोरोना संक्रमण शनिबार राति पुष्टि भएपछि अस्पतालको सो वार्ड आज बिहानबाट शिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
काठमाडौंको बीर अस्पतालबाट ब्रेन सम्बन्धि रोग (obstructive hydrocephalus) को अपरेशन गर्न रेफर गरिएकी बालिकाको अपरेशन पूर्व गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनलाई थप उपचारका लागि शनिबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले बताए ।
बालिकाको उपचारमा संलग्न अस्पतालका १२ जना नर्स, ५ जना डाक्टरलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ भने, एनेक्स वार्डमा रहेका १३ जना बिरामी र १३ कुरुवा सबैलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।
अस्पतालको क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन गरिसकेको समेत तजलेले जानकारी दिए । उनका अनुसार अस्पतालका अन्य सेवाहरु भने सुचारू रहेको छ ।
यसैगरी शनिबार नै मध्यपुर थिमि नगरपालिका–९, बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments