ललितपुर । ललितपुर महानरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा घरेलु कच्चा पदार्थ(मदिरा) को प्रयोग गरी स्टानिटाइजर उत्पादन कार्य सुरु गरेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्यानीटाइजर उत्पादन कार्य सुरु गरेको महानगरले जनाएको छ । महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको पहलमा नास्टले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्यानीटाइजर बनाउन तालिम दिइरहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिएपछि नेपालमा यसको स्रंक्रमण रोक्न विशेष सतर्कता अपनाउन थालिएको छ । बजारमा स्यानिटाइजर र मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिकाले घरेलु रक्सीबाट स्यानिटाइजर उत्पादन गर्न नास्टसँग सहकार्य गरी तालिम सञ्चालन गरेको हो ।
एक हप्ताअघि नास्टका वैज्ञानिकहरुले घरेलु रक्सीबाट पनि स्यानिटाइजर बनाउन सकिने निश्कर्ष निकालेका थिए । तालिममा सहभागी महिलाले अब टोलटोलमा गई अरुलाई स्यानिटाइजर बनाउन सिकाउनुपर्नेछ ।
घरेलु रक्सीबाट बनाइएको स्यानिटाइजरले ९५ प्रतिशत भाइरस मर्ने दाबी नास्टका वैज्ञानिकको छ ।
उनले भने, ‘हामीले डब्लु एच ओको गाइडलाइन अनुसार नै स्यानिटाइजरको परीक्षण गरेका हौं, यो सफल पनि भएको छ । अल्कोहल मिसिएको स्यानिटाइजरले भाइरसलाई ८ सेकेन्डमा मार्ने हुनाले हामीले घरेलु अल्कोहल प्रयोग गरेका हौं ।’ उनका अनुसार स्यानिटाइजर बनाउँदा प्रयोग गरिने इथानोलमा लागो लाग्ने भएकाले घरमा बनाउन जोखिम हन्छ ।
हातमा हुने ब्याक्टेरिया र भाइरस मार्न साबुन भन्दा स्यानिटाइजर प्रभावकारी हुने वैज्ञानिकहरु बताउँछन् । पछिल्लो समयमा माग बढेका कारण बजारमा यसको अभाव छ ।
स्यानिटाइजर बनाउन चाहिने मेसिन ललितपुर महानगरपालिकाले खरिद गर्नेछ । शाखा अधिकृत सरिता महर्जनले २९ वटै वडाका २÷२ जनाले तालिम लिएपछि महानगरले मेसिन खरिद गर्ने बताइन् ।
स्यानिटाइजर बनाउन चाहिने मेसिनको मुल्य भने ४५ लाख रुपैयाँ पर्ने महर्जनले बताइन् । महानगरपालिकाले बजारमा बिक्री गर्ने हिसाबले उत्पादन गर्न नलागेको उनको भनाइ छ ।
प्रकाशित मितिः २०७६ चैत ०३ सोमबार
Comments