काठमाडौं । नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस स्रकमितको उपचारबारे तालिम दिने भएको छ । सोमबारबाट भद्रकालीमा सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ्यकर्मी सहभागी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
तालिममा संक्रमितलाई क्वारेन्टाइनमा कहाँ–कसरी राख्ने, उपचार कसरी गर्ने भन्ने विषयमा डेमोस्ट्रेसन गरी देखाइने प्रवक्ता पाण्डेले जानकारी दिए । तालिम सञ्चालनका लागि सेनाले भद्रकालीमा ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ ।
नेपाली सेनाले कोरोना संक्रमितहरुको उपचारका लागि हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० शय्याको आइसोलसन कक्ष निर्माण गरेको छ । साथै इटहरी, पोखरा र नेपालगञ्जका क्षेत्रीय अस्पताललाई पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए ।
सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिइसकेको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ३ मंगलबार
Comments