भक्तपुर । डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर ९ सय, साउदी रियाल ३ हजार र चिनियाँ युआन १ हजार ४ सय चोरीमा संलग्न रहेको आरोपमा २ जना पाकिस्तानी नागरिक भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२३ झोँछेस्थित ललितपुर गावल घर भएका राजेन्द्र श्रेष्ठको उक्त मनि एक्सचेन्जबाट पैसा चोरी फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पाकिस्तान इस्लामावाद बस्नेहरु ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खान रहेका छन् । उनीहरुले उक्त मनि एक्सचेन्जमा ५ सय साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको बताइएको छ ।
साथै यसअघि उनीहरुले २०७६ वैशाख २९ गते भक्तपुर सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आरके ईलेक्ट्रिक एण्ड ईलेक्ट्रनोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुर ठिमी लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा वैशाख ३१ गते पक्राउ परी ५०/५० हजार रुपैयाँ धरौटीमा छुटेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७६ असार २० शुक्रवार
Comments