काठमाडौं । सल्यानमा १४ वर्षीया नाबालिकालाई जंगलमा पुर्याएर बलात्कार गरेको आरोपमा एक जना ट्रक चालक पक्राउ परेका छन्। सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार वैशाख २६ गते डाँगी पक्राउ परेका हुन्। डाँगीमाथि कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई वैशाख १० गते राति ११ बजे सामान ल्याइदिएको छु भन्दै ललाइफकाइ जंगलमा पुर्याइ बलात्कार गरेको ब्यहोरा इलाका प्रहरी कार्यालय लुहाममा पीडितले किटानी जाहेरी दिएकी छन्।
प्रहरीका अनुसार पीडित बालिकाका बुवाआमा दुबै जना रोजगारीका लागि विदेशमा छन्। त्रिवेणी गाउँपालिकाकी ती बालिकालाई ट्रक चालकले आउजाउ गर्ने क्रममा चिनजान भएको र सोही आधारमा भान्जी भन्ने गर्थे। उनी विवाहित हुन्।
जिल्ला अदालत सल्यानले घटना अनुसन्धान गर्न डाँगीलाई बिहीबार पहिलो पटक चार दिनको म्याद दिएको छ। डाँगी इलाका प्रहरी कार्यालय लुहामको प्रहरी हिरासतमा राखिएको छ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
Comments