काठमाडौं । क्यानडामा रहेको नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई सचेत गराएको छ । क्यानडाका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूका सचेतनाका लागि सूचना प्रकाशित गरेको हो।
दूतावासले अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्ने खाने खर्चको व्यवस्था गरेर मात्र पठाउनु पर्ने बताएको छ । पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रूपले सहयोग गर्न सुझाव दिएको छ ।
‘क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
पछिल्लो समय क्यानडा जाने विद्यार्थीहरू विभिन्न प्रकारका ठगीको सिकार हुँदै आएका छन्। विशेषगरि सामाजिक सञ्जालबाट विज्ञापन गर्दै विद्यार्थीहरूलाई ठगी गर्ने गिरोह सक्रिय देखिएको हो। यस्तो खालको गिरोहबाट सचेत रहन भन्दै दूतावासले सचेतना जारी गरेको हो।
Comments