काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सरकारले सङ्घीय राजधानी काठमाडौं सिँगारेको छ । कतारका राजा अहिले दिउँसो ४ बजेपछि नेपाल आउँदै छन् । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वागतद्वार निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका राजाको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्ति सुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताएका छन् ।
काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । विशिष्ट पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।
सडक, चोक, गल्ली, पुल, विभिन्न अग्ला भवन लगायतमा पुगेर नेपाली सेनाले सुरक्षा दिइरहेको छ । सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ ।
विशिष्ट पाहुनाको स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरेको नेपाली सेनाले जनाएको छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख ११ मंगलबार
Comments