काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।
अतिविशिष्ट व्यक्ति (भीभीआईपी) उडानका लागि नोटाम जारी भएको समयमा सामान्यतया अन्य वायुसेवा कम्पनीका जहाजहरुको उडान–अवतरण हुँदैन । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले विशिष्ट अतिथि आगमनको क्रममा यस्तो व्यवस्था गरिएको बताए।
स्रोतका अनुसार राजा निजी जहाजमा आउने तयारी छ । उनको जहाज राख्न पार्किङ वे समेत खाली राखिने छ । कतारका राजाको यो पहिलो राजकीय भ्रमण हो। राजासँगै सहयोगीहरुका अरू जहाज आउने–नआउने बारे भने खुलाइएको छैन ।
बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार
Comments