काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनवाइ स्थगित भएको छ । सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । तर, न्यायाधीशले मुद्दालाई सुनवाइ गर्न नभ्याइनेमा राखे ।
८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको थियो । मुद्दाको अर्को पेसी आजै तोकिनेछ । ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो ।
सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुने छ । आउँदो जुनमा जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा आइसिसी टी–२० विश्वकप क्रिकेट हुँदै छ ।
सन्दीपले खेल्नका लागि मुद्दा त्यो भन्दा महिना दिनअघि टुङ्गिनुपर्ने छ । यदि त्यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बदर भएमा उनले सफाइ पाउनेछन् । त्यो अवस्थामा भने खेल्न जान पाउनेछन् ।
प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार
Comments