काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।
युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।
कसरी भयो सुरुवात?
प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्व थुप्रै देशहरूमा भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यस दिनकाे इतिहास भने दु:खद् छ। तेस्रो शताब्दीमा रोममा एक शासक थिए- क्लोडियस द्वितीय। उनको मान्यता थियो- जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए- आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन।’
रोमनका पादरी सेन्ट भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले उक्त उद्घाेषको विरोध गरे। सेन्ट भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे।
जब सेन्ट भ्यालेनटाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरेको क्लोडियसले थाहा पाए तब उनले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश दिए। यसपश्चात् भ्यालेनटाइनलाई ‘कालकोठरी’मा बन्दी बनाइयो।
आखिरमा सेन्ट भ्यालेनटाइनलाई फाँसी दिने सजाय सुनाइयाे। फाँसीको आदेश सुनेर सेन्टले जेलरकी दृष्टिविहीन छोरीको नाममा एकप्रेम पत्र लेखे। उनले त्यसमा लेखेका थिए- ‘फ्रेम योर भ्यालेनटाइन।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने- म मरेपछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए। यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले ‘भ्यालेनटाइन डे’ मनाउन सुरु गरेका हुन्।
प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार
Comments