काठमाडौं । अहिले नेपालमा रहेको पश्चिमी वायुले पनि वर्षा गराउने सम्भावना कम भएको छ । अस्ति बेलुका पश्चिमी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुले आज पश्चिमी क्षेत्र र भोलि काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना थियो ।
तर प्रणाली कमजोर भएकोले छिटपुटबाहेक वर्षाको सम्भावना कम हुँदै गएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अझै पनि आज राति वा भोलि केही ठाउँमा वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना कम रहेको उनको भनाइ छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्ययम खालको हिमपात भने हुनेछ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक विनोद पोख्रेल पनि पश्चिम नेपालमा केही वर्षा भए पनि अहिलेको प्रणालीले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा वर्षा गराउने सस्भावना ज्यादै कम भएको बताउँछन् । यो वर्ष हिउँदे वर्षा कम भएको र पूर्वानुमान गर्न पनि कठिन भएको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल पनि यस पटक पूर्वानुमानमा कठिनाइ भएको बताउँछन् । नेपाल भित्रिँदै गर्दा राम्रै देखिएको प्रणाली पनि यहाँ आएपछि कमजोर बनेको उनले बताए ।
पश्चिमी वायुको प्रभावका कारण तराई मधेसमा लागेको हुस्सु तथा कुहिरो भने कम भएको छ । आज बिहान केही ठाउँमा हुस्सु लागेकोमा दिउँसोपख धेरैजसो ठाउँमा घाम लाग्यो । यस्तै भोलि पनि बिहान केही हुस्सु देखिए पनि दिउँसो चाँडै कम हुने मौसमविद् अर्यालले बताए । आज दिउँसो लामो समयपछि पश्चिम तराईमा पनि घाम लागेको छ ।
प्रकाशित मितिः २०८० माघ १७ बुधबार
Comments