काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय शुक्रबार सकिँदै छ ।
संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगले मंसिर २४ देखि २९ गते सम्म दल दर्ताको म्याद तोकेको थियो ।
आयोगका अनुसार बिहीबारसम्म १० वटा राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जनमत पार्टी, नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराइसकेका छन् ।
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले भने अझै दल दर्ता गरेका छैनन् । उनीहरुले शुक्रबार दल दर्ताको निवेदन बुझाउने तयारी गरेका छन् ।
फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२१ गतेका लागि तोकिएको छ ।
यो निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ ।
Comments