काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत बेनी–गलेश्वर खण्डमा हिजाे शनिवारदेखि कालोपत्रको काम शुरु भएको छ । गएको वर्ष माघ महिनादेखि शुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।
बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र गर्न आजदेखि प्राइम कोट हाल्न शुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिए । प्राइम कोट हालेको २४ घण्टापछि ट्याक कोट हालेर गिट्टी हाल्ने र लगत्तै फस्टकोट राखेर मेसिनले पेल्ने उनले बताए । त्यसपछि सेकेन्ड कोट अलकत्र छरेर मसिनो गिट्टी हालेर पेलेपछि कालोपत्रेको काम सकिनेछ ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय धनञ्जय मङ्गलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।
बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दूरी रहेको यो सडक खण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई छुने गर्दछ । बेनी–गलेश्वर खण्ड बेनी नगरपालिका हुँदै उत्तरी म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण भएर हिमालपारिको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको छ ।
प्रकाशित मितिः २०८० मंसिर १० आइतबार
Comments