काठमाडौं । इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको शव स्वदेश ल्याउन अझै केही समय लाग्ने भएको छ । अहिले १० वटै शव इजरायल सरकारले सुरक्षित रूपमा राखेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएका छन्।
आज बुधवार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले पहिले इजरायलले नेपाललाई शव हस्तान्तरण गरेपछि मात्रै त्यहाँबाट शव नेपाल ल्याउन सरकारले काम थाल्ने जानकारी दिए । यस्तै बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै थाहा नभएको र खोजी भइरहेको उनको भनाइ छ । घाइते चार जनामध्ये एक जना आज डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ ।
युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका एक सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको प्रवक्ता लम्सालले जानकारी दिएका छन् । मन्त्रालय र इजरायलमा रहेको नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीको रजिस्ट्रेशन खुला गरेकोमा अहिलेसम्म तीन सय ८८ जनाले नाम टिपाएका उनले बताए ।
नेपाल आउन नाम टिपाएकालाई लिन नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज इजरायल जाने र जहाजले दुई सय ५० जनालाई ल्याउने उनले बताएका छन् । नेपाल आउन चाहनेहरूको सङ्ख्याका आधारमा सरकारले अर्को उडान गर्ने प्रवक्ता सेवा लम्सालको भनाइ छ ।
प्रकाशित मितिः २०८० असोज २४ बुधबार
Comments