काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलाको कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी दश जना नेपालीहरुको दुःखद निधन भएको र उद्धारका लागि नेपालीहरुले अनुरोध गरेकोप्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ।
आयोगले सरकारलाई उद्धार गर्नुपर्ने नेपालीहरुका विषयमा तत्काल उद्धार थाल्नसमेत आग्रह गरेको छ। यस विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भइरहेका प्रयासको प्रशंसा गर्दै सो विषयमा सरकारबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन पत्राचार गरेको छ।
‘विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकहरुको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व हुन्छ। अतः इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत आयोग अनुरोध गर्दछ’ आयोगको पत्रमा भनिएको छ।
प्रकाशित मितिः २०८० असोज २४ बुधबार
Comments