काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रका बासिन्दाले संघीय सरकार र काठमाडौं महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने भएको छ ।
‘फोहोर र मानिससँगै बस्न सक्दैनौं। हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गरायौं,’ बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘तर, कतैबाट पनि सुनुवाइ भएन।’ फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे। त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए। उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं। यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं। अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं।’
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।
प्रकाशित मितिः २०८० भदौ ११ सोमबार
Comments