काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहमा अनुगमन गरेको छ। बालसुधार गृहमा भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर तोडफोड भएको र सुधारगृहबाट बालबालिकाहरु बाहिर निस्किएको घटनाका सम्बन्धमा बुझ्न आयोगले अनुगमन गरेको हो।
अनुगमनको क्रममा आयोगले बालसुधार गृहमा रहेका बालबालिकाहरु, बालसुधार गृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यहरुसँग प्रत्यक्ष भेटेर जानकारी लिएको छ। यसका साथै बालसुधार गृहपरिसरको अवलोकन पनि गरेको छ।
बालसुधार गृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी कमल बस्नेतको स्वास्थ्य पचारमा संवेदनशीलता नदेखाएको एवम् सुधारगृहका कमाण्डरहरुले आवश्यक समन्वय गर्न नसकेकोले सामान्य बिरामी परेका कमलको उपचारको अभावमा मृत्यु भएको भन्दै बालसुधार गृहका बालकहरुको समूह ४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधारगृहबाट भागेको थियो।
भागेकामध्ये केही सम्पर्कमा आएको र अझै दश जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको छ। आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको छ।
प्रकाशित मितिः २०८० भदौ ०७ बिहिबार
Comments