काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी केही दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ ।
मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ । प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको आन्तरिक उडानमा समेत सामान्य प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
मौसम खराबीले आज बिहान सोलुखुम्बुमा दुर्घटनाग्रस्त हेलिकप्टरको खोजीमा समेत कठिनाइ भएको थियो । उक्त दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मनसुनी वर्षाले यातायात तथा हवाई उडान, पर्यटन कृषिलगायत क्षेत्रमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मितिः २०८० असार २६ मंगलबार
Comments