काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी अघि बढाएको हो।
महानगरपालिका स्रोतका अनुसार आइतबार हलहरूमा नगर प्रहरी पुगेर भोलिबाट चलचित्र नचलाउन निर्देशन दिएको छ। मेयर बालेन्द्र शाहले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गरेका थिए।
तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट नहटाएपछि सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्ने महानगर स्रोतले जनाएको छ ।
मेयर शाहले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनुपर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।
प्रकाशित मितिः २०८० असार ०३ आइतबार
Comments