भक्तपुर । चाँगुनारायण नगरपालिका–२ बर्खेबाट प्रहरीले दिउँसो सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ मा बस्ने २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका–२ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ मा बस्ने २६ वर्षीय अमृत गजमेर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सालकको खपटा लिएर बिक्रीवितरणको लागि हिडेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई बाग्मती प्रदेश ०२–०२० प। ८४९७ नम्बरको मोटरसाइकलमा अन्दाजी ९९८ ग्राम बराबरको सालकको खपटा कालो रंगको झोलामा राखि हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको उनले बताए ।
प्रकाशित मितिः २०७९ चैत्र २२ बुधबार
Comments