काठमाडौं । सिन्धुपाल्चोकमा रहेको तातोपानी नाकामा तीन वर्षपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको छ ।
नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच तीन वर्षपछि हिजो बिहीवार सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले जानकारी दिए । बैठकमा नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीहरू सहभागी थिए ।
छलफलमा तातोपानी नाका पूर्णरूपमा खुलाउने विषय पनि उठेको छ । तर यो प्रारम्भिक चरणको छलफलमात्र भएकाले पूर्णरूपमा नाका खोल्नेबारे सहमति गर्न अब पहल हुने प्रमुख जिल्ला अधिकारी न्यौपानले बताए । चिनियाँ पक्षले तातोपानी नाका पूर्णरूपमा खुलाउन सीमा सुरक्षामा जोड दिएको छ ।
२०७२ सालको भूकम्पका कारण चार वर्ष ठप्प रहेको तातोपानी नाका कोरोनाका कारण पुनः प्रभावित भएको हो । तातोपानी नाका पहिलाजस्तो सञ्चालनमा नआएका कारण व्यवसायीहरू निराश छन् ।
प्रकाशित मितिः २०७९ फागुन ०५ शुक्रबार
Comments