कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ सुडामा ना ७ ख ६५२१ नम्बरको बसको ठक्करबाट आज बिहान करिब ७ बजेतिर कञ्चन विद्या मन्दिरमा स्नातक प्रथम वर्षमा अध्ययनरत २१ वर्षीय कविराज बैजको मृत्यु भएको हो ।
सिसैयास्थित घरबाट साइकलमा कलेजतर्फ आइरहेका बेला दार्चुलाको गन्ना गइरहेको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्र बहादुर शाहले बताए ।
बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा तनाव उत्पन्न भएको छ । पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थी र अभिभावकहरूले राजमार्ग बन्द गराएका छन् ।
विद्यार्थीहरूले राजमार्गको सुडा क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन सुरु गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘बिहानदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ,’ डीएसपी शाहले भने, ‘तर अहिलेसम्म खुलाउन सकिएको छैन । हामी अहिले छलफलमै छौँ ।’
प्रकाशित मितिः २०७९ पुष ०१ शुक्रबार
Comments