काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । एक्स्पोमा विज्ञान तथा प्रविधिका कुरा व्यावहारिक रूपमा प्रयोग गर्ने पाइने उद्योग संगठन मोरङका अध्यक्ष रविश प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार नेपालमा पहिलापटक संघीय सरकारसँग सहकार्य गरेर प्रत्यक्ष रूपमा कार्यक्रम गर्न लागिएको हो । संघीयता कार्यन्वयनमा पनि यस एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
प्रदर्शनीमा कृषि तथा औद्योगिक प्रदर्शनी, स्टार्टअप पेभिलियन, पर्यटन पेभिलियन, श्रम रोजगार तथा सिप पेभिलियन, स्थानीय परिकारहरूको प्रस्तुति, परम्परागत सिपको लाइभ प्रस्तुति, सेन्ट्रल डिजिटल डिस्प्ले र थिमेटिक सेसन तथा सेमिनारहरू रहेको छ ।
साथै भिमेटिक फेसन सो, विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, रोबट भीआर तथा होलोग्राम प्रविधिको प्रयोग, माउन्टेन फ्लाइटजस्ता आर्कषकका क्षेत्र पनि रहनेछन् । प्रदर्शनीमा ३६१ वटा स्टल रहने आयोजकले जनाएको छ । एक्स्पो मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने छ ।
थिमेटिक सेसनमा पुस १ गते नीतिगत वातावरण, २ गते पूर्वाधार तथा क्षेत्रीय सञ्जाल, ३ गते पर्यटन, ४ गते अनुसन्धान र प्रविधि, ५ गते नवपवर्तन र ६ गते नीतिगत सवलीकरण विषयमा छलफल हुने उद्योग संगठन मोरङले जनाएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर २० मंगलबार
Comments