मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् ।
जिल्लाको छायानाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज (सोमबार) पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पहिरोमा परी तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि सदरमुकाम गमगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । वर्षा नरोकिएकाले खोजबिनमा समस्या भएको हमालले बताए । घटनास्थल सदरमुकामबाट तीन घन्टाको पैदल दूरीमा छ ।
यसैबीच, उद्धार तथा राहतका लागि सुर्खेतबाट आउने भनिएको हेलिकोप्टर अबेर साँझसम्म गमगढी आउन नसकेको प्रहरीले जनाएको छ ।
छिमेकी जिल्ला कालिकोटमा समेत पहिरोमा परेकाहरुको उद्धार गर्न आएको हेलिकप्टर उतैबाट सुर्खेत फर्किएको बताइएको छ । मङ्गलबार बिहानै उद्धार र राहतका लागि हेलिकोप्टर आउने प्रहरीले जनाएको छ ।
जिल्लामा विभिन्न खोलाबाट उत्पादित बिजुली बन्द छ । पहिरोले मुहानै बगाएपछि जिल्लावासी बिजुलीविहीन अवस्थामा छन् । जिल्लामा टेलिफोन सेवासमेत अवरुद्ध छ ।
Comments