काठमाडौं । महान् पर्व बडा दशैंको नवौं दिन आज देवी दुर्गा भवानीको नवौं रुप माता सिद्धिदात्रीको पूजाआजा गरिंदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन माता सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।
शक्ति स्वरूप सिद्धि धात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ ।
आजको दिनलाई महानवमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रकाशित मितिः २०७९ असोज १८ मंगलबार
Comments