काठमाडौं । महान् पर्व बडा दशैंको पाँचौं दिन आज देवी दुर्गा भवानीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरिंदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
हिन्दूहरुमा स्कन्दमाताको पूजा आराधना गरे सन्तान सुख पाइने विश्वास रहँदै आएको छ ।
नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।
नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
वरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार
Comments