काठमाडौं । मेलम्ची खानेपानीको गेट फुस्किएर मृत्यु भएका कर्मचारीको परिवारलाई सरकारले प्रतिव्यक्ति पाँच पाँच लाख राहत उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषदको असार ३१ मा बसेको बैठकले मेलम्ची खानेपानी परीक्षणको क्रममा गेट फुस्किएर मृत्यु भएका दुई जनाको परिवारलाई उक्त सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘मेलम्ची खानेपानीको सुरुङ परीक्षणको क्रममा दुर्घटनामा परी दिवंगत हुनुभएका इन्जिनियर सतिशकुमार गोइत र सवारीचालक राधाकृष्ण थापामगरको परिवारलाई पाँच पाँच लाखका दरले आर्थिक सहयता उपलब्ध गराउने,’ सरकारका प्रवक्ता कार्कीले भने।
दुई वर्षअघि २०७७ असार ३० गते मेलम्ची खानेपानीको मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना कार्मचारीको गेट भत्किएर बगाउँदा मृत्यु भएको थियो।
पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। पानी खोलेपछि १७ नम्बर गेट थाम्न नसक्दा उनीहरुलाई पानीले बगाएको थियो।
गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडीसमेत बगाएको थियो। निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएकोमा दुई जनाको उद्धार गरिएको थियो।
प्रकाशित मितिः २०७९ साउन ०१ आइतबार
Comments