कोरियन भाषा परीक्षा (इपिएस)को लागि चैत १४ गतेदेखि आवेदन खुल्ने भएको छ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर चैत १४ देखि २१ गतेसम्म आवेदन खुला हुने जनाएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।
कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा वैशाख २९ देखि जेठ १३ सम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुनेछ । त्यस्तै उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा असार २० देखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ सम्म हुने बताइएको छ ।
उत्पादनमूलक क्षेत्रमा पढाइ र सुनाइ गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अङ्क ल्याउनुपर्ने सूचनामा उल्लेख छ । ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अङ्क ल्याउनुपर्नेछ । परीक्षा शुल्क २४ डलर तोकिएपनि परीक्षा केन्द्र र परीक्षा समय भने सार्वजनिक हुन बाँकी रहेको छ ।
Comments