कमल न्यौपाने
काठमाडौ १२ बैशाख ।
सिमित उडान हुँदा हिंजोआज यात्रीहरुले चाहेर पनि हवाईमार्गबाट नेपालगन्ज–काठमाडौं÷ काठमाडौं–नेपालगन्ज उडान भर्न नपाईरहेको अवस्था छ । यो रुटमा यात्रा गर्न जहाजको टिकट पाईहाले पनि महंगो शुल्क तिर्नुपर्ने बाध्यता छ । जसलाई दृष्टिगत गरी चाँडै नै यो रुटमा दुई वटा एयरलाईन्स कम्पनीले उडान थप्ने भएका छन् । नेपालगन्ज–काठमाडौं रुटमा चाँडै नै सौर्य एयरलाईन्सले थप उडान गर्ने भएको छ भने श्री एयरलाईन्सले पनि नयाँ जहाज संचालनमा ल्याउँदैछ ।
सौर्य एयरलाईन्सले हप्ता दिनभित्रै नयाँ उडान थप्ने तयारी गरेको छ । सौर्य एयरलाईन्सका स्टेसन म्यानेजर भोजराज शाहीका अनुसार यात्रीहरुको चापलाई मध्यनजर गरेर नेपालगन्ज–काठमाडौं रुटमा अर्को फ्लाईट थप्न लागिएको हो । अहिले सौर्य एयरलाईन्सले प्रत्येक दिन एउटा उडान भर्दै आएको छ । स्टेसन म्यानेजर शाहीले भने–‘ यात्रीको सुविधाका लागि कम्पनीले अर्को जहाज भित्र्याईसकेको छ । चाँडै नै प्रक्रिया मिलाएर हप्तादिनमा यो रुटमा दोस्रो फ्लाईट थप्ने तयारी छ ।’
त्यसैगरी श्री एयरलाईन्सले पनि बैशाख महिनाभित्र ३ वटा जहाज संचालन गर्ने तयारी गरेको छ । श्री एयरको एउटा जहाज अहिले नेपालगन्ज पुगिसेकेको छ । श्री एयरलाईन्सको ५० सिट क्षमताको सीआरजे–२०० जहाजले यसै महिनाभित्र नेपालगन्ज–काठमाडौं उडान भर्ने तयारी गरिरहेको छ । श्री एयरलाईन्स नेपालगन्जका स्टेसन म्यानेजर परशुराम चौधरीले यो महिनामै नेपालगन्ज–काठमाडौं रुटमा थप अर्को जहाजले पनि उडान भर्ने जानकारी दिए । उनका अनुसार यसै महिनाभित्र अर्को ७२ सिटर जहाज पनि थप्ने कम्पनीको तयारी छ । तर नेपालगन्ज–काठमाडौं रुटमा भने श्री एयरलाईन्सले हालका लागि २ वटा मात्र उडान भर्नेछ ।
नेपालगन्जमा अहिले बुद्ध एयरले ३ वटा, यति एयरले ३ वटा र सौर्य एयरलाईन्सले एउटा उडान भर्दै आएका छन् । सौर्य र श्रीको तीन वटा उडान थपिने भएपछि यात्रीले सहज र सुलभ यात्रा गर्न पाउने अपेक्षा गरिएको छ ।
Comments