काठमाडौं । सरकारले अब कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल खोप नदिने भएको छ । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ ।
विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८-०९-२८ को मन्त्रिस्तरीय निर्णयानुसार कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र) दिने निर्णय भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८-१०-५ को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ ।”
विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ । चीनबाट खरिद गरिएको थप खोप आउने मिति टुंगो लागेको छैन ।
प्रकाशित मितिः २०७८ माघ ०६ बिहिबार
Comments