काठमाडौं ।नेपाल बार एसोसिएसनले तेस्रो चरण तेस्रोको आन्दोलनको चौथो दिन आज (बुधबार) देशभरका १८ उच्च अदालत र तिनका इकाईहरूमा समेत आन्दोलनका कार्यक्रम गर्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बारले उच्च र तिनका इकाईमा धर्ना, जुलुस, विरोधसभालगायतका कार्यक्रम आयोजना गर्न लागेको हो ।
उच्चमा आयोजना गरिने विरोधसभामा बारका केन्द्रीय पर्यवेक्षकसमेत सहभागी गराइने बारले जनाएको छ । आन्दोलनका कार्यक्रम भएकाले आज उच्च अदालत र तिनका इजलासमा बहस, पैरवी नगर्नेगरी बारले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
आन्दोलनलाई अझ सशक्त बनाउन बारले भोलि (बिहीबार) दिउँसो २ बजे सर्वाेच्चबाट बालुवाटारसम्म मार्चपास गर्ने निर्णय गरेको छ । ‘कानुन व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन पनि सबै नागरिकलाई आग्रह छ,’ उनले भने, ‘न्याय नागरिकलाई नै चाहिएको हो, बारलाई मात्र होइन । सबै नागरिकलाई आन्दोलनमा आउन आह्वान गर्छौं ।’
हिजो देशभरका अदालतमा दर्ताको अन्तिम म्याद भएबाहेकका फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने कार्यक्रम थियो । त्यसअघि बारले प्रधानान्यायाधीश जबरालाई महाभियोग लगाउनेबारे दलहरूको ध्यानाकर्षण गराएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले गत कात्तिक १४ गतेदेखि आन्दोलन गरिरहेको छ । अदालत परिसरमा दिनहुँ धर्ना, जुलुस र कोणसभा भइरहेका छन् ।
प्रकाशित मितिः २०७८ मंसिर ०८ बुधबार
Comments