काठमाडौं । स्थानीय मौसमी प्रणालीका कारण बिहान काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम बदली तथा धुम्मिएको भए पनि बिस्तारै खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको र बिहान बदली भएको जस्तो देखिए पनि पानी भने नपर्ने मौसमविद्ले बताएका छन्।
हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मितिः २०७८ मंसिर ०६ सोमबार
Comments